Tuesday, August 21, 2012

-----"मन"-----
एउटा मन
रोईरहेको छ अर्को
हर्षोल्लाशमा छ
एउटाले अमन चयन गुमाई रहेको छ
मनहरु,
कति पश्चतापमा छन्
कति किम्कर्तब्यबिमुढ छन्
कति जिती रहेका छन्
कति हारेका छन्
कति कोमल छन् कति
कठोर छन्
कति मायालु छन् कति निर्दयी
कति गुमनाम छन् कति चर्चामा
कति पर्चामा छन् कति मर्चामा
कति एकलासेमा छन्
कति भिडमा
कति जीवित छन् कति मृत
कति रहस्यमय छन्
कति खुल्ला किताब
कति भिन्न-भिन्न-भिन्न
बिल्कुल भिन्न
मनहरु!!!!!!

यिनै मनहभिडमा थाहा छैन
कहाँ छ मेरो मन
मेरो भावना,मेरा ईन्द्रियहरुको
ताल्चा चाबी खै कहाँ छ
हेर्ने र जान्ने चाहना छ
कतिलाई चिमोट्दै छ
कतिलाई जित्दै छ
कति संग हारिरहेको???
कति बाट दबिएको
कतिलाई दबाएको
कति डुब्दै छ रक्त कुण्डमा
कति खीइदैछ
आँशुको धारले अनि छालले
कति उड्दैछ सिमलको भुवा बनि
कतिलाई टुक्राउदैछ चट्टान बनि
पिलपिल बल्दै होला कतै दियालोको दिप झैँ
कतै ग्रहण बन्दै होला
कति फूलमा रम्दै होला
कति बगरमा परे होला

यसरी
मेरो मनको बारेमा
अड्कलबाजी गर्दै गर्दा
मेरो ओछ्यान वरिपरी
रुको संसारमा
 
नियाल्न पुग्छु
नितान्तै सुनसान छ
झ्याल बाट बाहिर हेर्छु
बिहानीको चिसो सिरेठो
यी गगनचुम्बी महललाई
छिचोल्दै मलाई स्पर्श गरेर जान्छ
म सोची रहेको हुन्छु
साँच्चै के होला मन!कहाँ होला मन!
अईया.....मेरो गालामा कसैले थप्पड हान्छ
अनौठो आवाज आउँछ
"त भुराको यत्रो आँट
मलाई चिन्न र जान्न
ठूलो साधना चाहिन्छ
तैंले के गरेको छस् र!"
म गाला छाम्दै
दायाँ-बायाँ हेर्छु
केहि र कोहि देख्दिन
र बल्ल थाहा पाउँछु
त्यो नै मेरो मन रहेछ
जसले कोदालीले पहाड लडाउने
मेरो लहड देखि उदेक मान्दै
म माथि दया गरेको रहेछ
सामान्य दिनचर्यामा
फर्काउने निर्णय गरेको रहेछ
धन्य मेरो मन!
महान मेरो मन!!
सलाम मेरो मन!!!

-अनुरागी अरुण
न्यूयोर्क

No comments:

Post a Comment